नयाँ बर्षको आगमन संगै मुसहरलाई घर

नयाँ बर्षको आगमन संगै मुसहरलाई घर

वैशाख १, २०७४- धर्मुस सुन्तली फाउण्डेसनले झन्डै तीन महिना लगाएर निर्माण गरेको एकिकृत नमुना मुसहर बस्ती नयाँ वर्षको अवसर पारेर शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ  । एकिकृत नमुना मुसहर बस्तीको प्रवेशद्वारको रिवन काटेर कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले मुसहर समुदायलाई बस्ती प्रवेश गराए । उक्त अवसरमा महजोडीले उपभोक्ता समितिका अध्यक्ष विल्टु सदाय मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रम स्थल बर्दिबासलाई बेहुली झैं सिंगारीएको थियो । आ–आफ्ना घर अगाडी स्थानीयले कलश र घडा राखी शुभ साइतको संकेत गरेका थिए । गाउँ गाउँबाट भेला भएका स्थानीयले देशभक्तिका नारा सहितको प्लेकार्ड, झाँकी, मुसहर समुदायको साँस्कृतिक झाँकीसहित पञ्चे बाजा बजाएर सद्भाव, एकता र विकासको सन्देश दिंदै र्‍यालीमा सहभागी भएका थिए । बर्दिबासका संघ संस्थाहरुले ठाउँ ठाउँमा स्वागत द्वार बनाएका थिए ।

महजोडी, धुर्मुस–सुन्तली, किरण केसी, जितु नेपाल लगायत दर्जनभन्दा बढी कलाकारले गत पुस २५ गते एकैसाथ घरको जगमा इटा राखेर निर्माण कार्य सुरु गरेको फाउण्डेशनले ३ कोठा, बरण्डा र चोटासहितको बस्तीमा ५३ घर, १ सामुदायिक भवन, १ सामुदायिक भवन, १ प्रतिक्षालय, मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर, १ बालउद्यान, १ भ्यूटावर, पक्कि सडक सहितको एकिकृत बस्ती निर्माण गरिएको छ । हस्तान्तरण गरिएको बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकी सहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बालउद्यान, बस्ती अवलोकनका लागि भ्यू टाबर निर्माण गरिएको छ । हरेक घर अगाडी बगैचा तयार गरिएको छ । बगैचामा अशोक प्रजातिको बिरुवा रोपिएको छ । जसले बस्तीलाई हरियाली वातावरणमैत्री बनाउनेछ ।

हस्तान्तरण समारोहमा बोल्ने वक्ताहरुले धर्मुस सुन्तलीको कामबाट सरकारले पाठ सिक्नु पर्ने औंल्याए । नकारात्मक शक्ति देशमा हावी हुँदा देशले कोल्टो फेर्न नसकेको प्रति कलाकार मदन कृष्ण श्रेष्ठले चिन्ता व्यक्त गरे । कलाकार हरिबंश आचार्यले देशमा पहाडी मधेसी भनेर विखण्डनको विउ रोपिनै लाग्दा धर्मुस सुन्तलीले हिमाल, पहाड  तराई कोही छैन पराई भन्ने भावनालाई बलियो बनाउन पहाड र मधेशबीच पुलको काम गरेर राष्ट्रियता जोगाउन एकीकृत विकासको कदम चालेको बताए । देश बनाउन पहिला आफूलाई जिम्मेवार नेपाली नागरिकको रुपमा सबैले सोंच्नु पर्ने धर्मुस सुन्तलीले बताए  । ‘हामीले सरकारलाई चुनौती दिएका होइनौं, बरु सघाउन हिमाल, पहाड, तराई हिडेका हौं’ धुर्मुस सुन्तलीले भने । ‘चाहे भने देश नागरिकले बनाउछ त्यो भावनाले देश विकास गर्न अघि बढेका हौं ।’

‘नेपालका अरु क्षेत्रमा पीडाले छट्पटाई रहेका पीडितको पीडामा धर्मुस सुन्तली मल्हम पट्टी लगाउन अघि बढ्नु पर्छ कलाकार बसुन्धारा भुषालले भनिन्, ‘त्यसका लागि विश्वका कुना कुनामा रहेका नेपालीले सहयोग र साथ अवश्य दिने छन् ।’ गरिब र विपन्नहरुको लागि धर्मुस सुन्तली जीउँदा  भगवान् रहेको कलाकार शिव श्रेष्ठले बताए । ‘राम जन्मियो, सीता जन्मिन्, कृष्ण जस्ता देवी देवता बिभिन्न अवतार लिएर आए’ उनले भने ‘धर्मुस सुन्तली भगवानको अवतार लिएर पीडितको आँखाको आसु पुछन् धर्तीमा आएको छ ।’

नाष्टका उपकुलपति जीवराज पोखरेलले मुसहर समुदायलाई दीर्घकालीन आयस्रोतको लागि चाँडै काम गर्ने प्रतिबद्धता जनाए भने नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले धर्मुस सुन्तलीको कामप्रति सरकारले गौरव महसुस गराएको बताए ।

बस्ती निर्माण गर्न ४ करोंड ७८ लाख खर्च हुने अनुमान गरिएको थियो । तर बस्ती बनाउन  ५ करोंड ४ लाख ३६ हजार ८ सय ६० रुपैंया खर्च भएको परियोजना व्यवथापक अर्जुनप्रसाद न्यौपानेले बताए । बस्ती निर्माण गर्न देश विदेशबाट ६ करोंड ३३ लाख ३९ हजार ८ सय ६६ रुपैंया सहयोग प्राप्त भएको थियो । पुस्तौंदेखि चरम गरिवीले पिल्सिएका नमुना मुसहर बस्तीका उनीहरु नयाँ बर्षमा नयाँ घर उपहार पाउँदा उत्साहित छन् ।



यसमा तपाइको मत