वत्ती मुनि अँध्यारो : दुष्यन्त भट्टराई

लघुकथा :- वत्ती मुनि अँध्यारो
दुष्यन्त भट्टराई

Image may contain: 1 person, plant, sky, outdoor and nature

अधिकार शर्मा , उनको नाम । जस्तो नाम उस्तै काम ।
अधिकार खोसिएका, पिछडिएका , हेपिएका , दलीत , सिमांतकृत, जनजाती सबैको अधिकारको लागी सदैव लड्ने व्यक्ति हुन् अधिकार शर्मा । अझ महिला अधिकारको त उनि प्रवक्ता जस्तै । उनको विषेस लगाव पनि महिला अधिकार माथी नै थियो । त्यसैले गाउँ शहर सबैले उनीलाई नै मान्दथे ।

बेलाबेला गाउँ शहरमा महिला अधिकारका बारेमा गोस्ठी हरु आयोजना गर्दथे । महिलाका आवाज सुन्दथे , पछाडि परेकालाई अगाडि बढाउँथे । बोल्न, नेतृत्व दिन सक्ने बनाउँथे । आत्म निर्भर हुन सिकाउँथे । त्यसैले सबै महिलाहरु त उनलाई भगवान नै मान्दथे ।

एक दिन स्थानीय महिलाको समुहले परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । शर्मा जी प्रमुख अतिथि थिए । स्वागत गर्दै धनमाया तामांग ले भनिन् ” मेरो बुडा जहिल्यै रक्सी खाएर मलाई कुट्थ्यो, गाली गर्थ्यो , म चुपचाप सहन्थ्यो । तर हाम्रो शर्मा सर को हौसलाले मैले ईलम गर्यो, पैसा कमायो अनि त बुडा पनि मलाई सघाउँन थाल्यो , माया गर्न थाल्यो । ” परररर ताली बज्यो । त्यस पछि सबै महिलाहरु लाई आफ्आफ्नो ठाउँबाट उठेर परिचय दिन भनियो । सबैले उठेर परिचय दिदैं गए , मेरो नाम फलानो , मेरो नाम फलानो ….।

शर्मा जी मख्ख देखिन्थे महिलाहरुमा जागेको आत्मविश्वास देखेर । परिचय दिने क्रम घुम्दै शर्माजी संगै बसेकी उन्कै श्रीमतिको पालो आयो ।

उनि पनि उठिन् , अनुहार अलिक डराए जस्तो गर्दै बोलि कामेको स्वरमा भनिन् ” म शर्माजी की श्रीमति ।”



यसमा तपाइको मत